काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सुनसरीको झुम्का पुगेका छन् । सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट र अन्तरक्रियामा सहभागी हुन विराटनगर पुगेका थापाले मंगलबार बिहानैदेखि चुनावी अभियान सुरु गरेका हुन् ।
सुनसरी २ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरे । ‘तपाईहररूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाईलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु,’ उनले भने ।
सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरे। ‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला,’ उनले भने, ‘मैले तपाइहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौ, कांग्रेस बदलिएर आएको छ,’ उनले भने ।
थापाले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने जिकिर गरे । थापा सुनसरीबाट सप्तरी, सिराहा, धनुषा, महोत्तरी हुँदै सर्लाही ४ पुग्ने कार्यक्रम छ ।





