काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन विषयको विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षका नेताहरू तत्काल नियमित वा विशेष महाधिवेशन नगर्ने पक्षमा छन् । आफ्नै पार्टीको चुनाव गराउन नसक्ने संस्थापन पक्षका नेताहरूलाई देशको चुनाव भने चाहिएको छ ।
जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्काले रोकेपछि विवाद बढेको हो । महामन्त्री थापाले बिहीबारको बैठक बहिष्कार गरेपछि कांग्रेसमा अहिले ठूलो हलचल मच्चिएको छ ।
बिहीबारको बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति खड्कासँग थापा र शर्माको अनौपचारिक छलफल भएको थियो । छलफलमा बैठकमा कार्यतालिका प्रस्तुत गर्ने विषयमा कार्यवाहक सभापति खड्का तयार नभएपछि महामन्त्री थापा केन्द्रीय समितिको बैठकमै नबसेर बाहिरिएका थिए ।
कांग्रेसमा सभापतिको सहमतिमा महामन्त्रीले बैठकमा एजेन्डा प्रस्तुत गर्ने चलन रहेकाले आफूले तयार गरेको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाउने भएपछि थापाले केन्द्रीय समितिको बैठक नै बहिष्कार गरेको उनी निकट नेताले बताएका छन् । यसअघि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि प्रस्तुत गरेका थिए, जसलाई संस्थापन पक्षले अस्वीकार गरेको थियो ।
महामन्त्री थापाले जेनजी आन्दोलनपछि परिस्थिति फेरिएको भन्दै महाधिवेशनमा गएर नेतृत्व परिवर्तन नगरेसम्म चुनावमा जान नसकिने बताउँदै आएका छन् । संस्थापन पक्षले भने अब महाधिवेशनमा भन्दा चुनावमा केन्द्रित हुनुपर्ने बताउन थालेका छन् । कांग्रेसमा युवा पुस्ताका नेता कार्यकर्ता अहिलेकै नेतृत्वलाई बोकेर चुनावमा जान नसकिने बताउन थालेका छन् ।
पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमिलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह जस्ता नेताहरूलाई बोकेर चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन गरेर भए पनि नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज कांग्रेसमा बलियो भन्दै गएको छ । तर देउवा पक्षका नेतालाई भने पार्टीको चुनावभन्दा देशको चुनावको चिन्ता देखिएको छ । युवा पुस्ता भने अहिलेको नेतृत्वलाई बोकेर जाँदा चुनावमा बढारिने चिन्ताले छटपटाएको छ ।
कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने विधानमा एक वर्ष पदावधि थप्न सकिने वयवस्था छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक छ । आजको केन्द्रीय समितिको बैठकमा धेरैले महाधिवेशनको कार्यतालिका आउने अपेक्षा गरेका छन् ।








