काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं ४ का मतदातालाई धन्यवाद दिएका छन् । सोमबार सर्लाही पुग्नुअघि उनले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै देश जोड्ने संकल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ ४ छाडेर नयाँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

थापाले काठमाडौँका कथा मधेश लैजाने र मधेशका पीडा काठमाडौँ ल्याउन आफूले निर्वाचन क्षेत्र परिवर्तन गरेको बताए । भिडियो सन्देशमा उनले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने, तर अधिकारविहीन अवस्थामा एकता पनि सम्भव नहुने धारणा राखे । पहाडबाट बसाइँ सरेर काठमाडौँ आएको परिवारको सदस्य भएको नाताले पहाड र सहरको जीवन बुझे पनि मधेशसँगको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्न आफू त्यता जान लागेको उनले बताए ।

ADVERTISEMENT

आफ्नो राजनीतिक यात्राको सुरुवाती दिन सम्झँदै थापाले काठमाडौँ ४ का मतदातासँगको दुई दशक लामो सम्बन्ध स्मरण गरे । पहिलो संविधानसभामा समानुपातिक उम्मेदवार हुँदादेखि २०७०, २०७४ र २०७९ को प्रत्यक्ष निर्वाचनमा प्राप्त लगातारको जितलाई उनले मतदाताको अगाध मायाका रूपमा व्याख्या गरे ।

ADVERTISEMENT

नाकाबन्दी, भूकम्प र कोरोना महामारीजस्ता कठिन समयमा समुदायसँग मिलेर काम गरेको तथा सांसद र मन्त्रीका रूपमा भूमिका खेल्दा मतदाताले गरेको विश्वासप्रति उनले आभार प्रकट गरे । पार्टी सभापति भइसकेपछि धेरैले सुरक्षित क्षेत्र नछोड्न सुझाव दिए पनि आफूले सुझबुझपूर्ण तरिकाले जोखिम मोलेरै भए पनि देश जोड्नका लागि सर्लाही रोजेको उनले प्रस्ट पारे ।

‘मधेशसँगको साइनोलाई मैले केवल औपचारिकताको बनाएर मात्र हुँदैन। सर्लाही ४ का साथीहरूले माया गरेर बोलाउनुभयो, म त्यहाँ जाँदैछु। त्यसैले, मैले मधेशको प्रतिनिधित्व गर्दै गर्दा, त्यहाँका मुद्दाहरूलाई मैले बुझ्दै गर्दा, त्यसको समाधानको लागि मैले पहल गर्दै गर्दा—प्रकारान्तरले मैले सिंगो नेपालको मुद्दाहरूलाई नै हल गर्ने कुरामा ठुलो आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने विश्वास राखेको छु,’ उनले भनेका छन् ।
जीवनभर काठमाडौँका मतदाताको ऋणी रहने बताउँदै थापाले सिंगो देशको नेता हुनका लागि एकपटक मधेश झर्नुपर्ने बाध्यता र आवश्यकतालाई बुझिदिन आग्रह गरे ।

ADVERTISEMENT

उनले भनेका छन्, ‘तर अहिलेको लागि यति नै कुरा भन्छु—तपाईँहरूले जुन माया मलाई गर्नुभयो, जुन शुभेच्छा र आशीर्वाद मलाई दिनुभयो, म जीवनभर त्यसलाई सम्झन्छु, जीवनभर ऋणी रहन्छु। म सिंगो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने, म सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गर्दै गर्दा, काठमाडौँ क्षेत्र नम्बर ४ लाई पनि म सँगसँगै मेरो मन–मुटुमा लिएर हिँड्न सक्छु भन्ने विश्वास म राख्छु।’