काठमाडौं। सञ्चारमन्त्री जगदीश खरेलले आफूले चुनाव लड्ने वा नलड्नेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफ्नो विषयमा आएका समाचारहरू केही फरक ढंगले प्रस्तुत भएको बताए। यद्यपि त्यसप्रति आपत्ति नभए पनि सही तथ्य सार्वजनिक गर्न आवश्यक ठानेर आफूले स्पष्टिकरण दिएको उनको भनाइ थियो।
“यो मितिसम्म म कुनै पनि पार्टीमा गएको छैन। चुनाव उठ्छु वा उठ्दिन भनेर पनि केही भनेको छैन,” उनले भने, “तर समाचार अलिक फरक ढंगले आइरहेका छन्। त्यसप्रति मेरो आपत्ति छैन, तर सही कुरा चाहिँ आज म तपाईंहरूमार्फत भन्न चाहन्छु—मैले चुनाव उठ्ने वा नउठ्ने निर्णय गरेको छैन।”
मन्त्री खरेलले हाल आफ्नो र सरकारको सम्पूर्ण ध्यान चुनाव सम्पन्न गराउनेतर्फ केन्द्रित रहेको पनि बताए। “मैले अहिलेसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन, न वार्ता गरेको छु, न छलफल नै,” उनले स्पष्ट पारे, “आउँछु पनि भनेको छैन, जान्छु पनि भनेको छैन। अहिले मेरो सम्पूर्ण ध्यान अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा चुनाव गराउनमै केन्द्रित छ।”
हालै खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्न सक्ने चर्चा चलेको थियो। तर मन्त्री खरेलले त्यस्ता चर्चालाई खण्डन गर्दै यसबारे आफूले अहिलेसम्म कुनै निर्णय नगरेको दोहोर्याएका छन् ।







