लन्डन। संयुक्त अधिराज्य (यूके) सरकारले २१ फागुनमा सम्पन्न नेपालका आमनिर्वाचनमा झण्डै दुई तिहाइ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारसँग काम गर्न उत्सुक रहेको बताएको छ। यो धारणा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र इन्डो प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री सीमा मल्होत्राबीच बुधबार भएको शिष्टाचार भेटमा व्यक्त गरिएको हो।
लन्डनस्थित बेलायती विदेश मन्त्रालय (एफसिडिओ) मा भएको करिब एक घण्टा लामो भेटघाट नेपाल–बेलायत द्विपक्षीय मुद्दा र साझा हितहरूमा केन्द्रित थियो। भेटमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार, लगानी, जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास जस्ता विविध मुद्दामा बेलायतको सहयोग र प्राथमिकताबारे चर्चा भएको कार्यवाहक राजदूत दुवाडीले जानकारी दिए।
‘बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा बन्ने सरकारसँग काम गर्न उत्साहित छ,’ दुवाडीले भने। उनले थपे, ‘संसदमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको रास्वपाका प्राथमिकतासँग कसरी काम गर्ने भन्नेबारे बेलायत चासो राख्दछ। नेपाललाई सहयोग गर्ने विषयमा बेलायत सकारात्मक रहेको पनि उनले बताए।’
भेटघाटमा भूतपूर्व गोर्खा मुद्दाबारे पनि कुरा उठेको र कार्यवाहक राजदूतले गोर्खा समुदायसँग सम्बन्धित पहलका लागि मन्त्री मल्होत्रालाई अनुरोध गरेको जानकारी दिइयो। भेटले नेपाल–बेलायतबीचको ऐतिहासिक तथा शताब्दी पुरानो सम्बन्ध अझ सुदृढ बनाउने विश्वास पनि जगाएको छ।
यसअघि इन्डो प्यासिफिक मन्त्री मल्होत्राले गत ६ मार्चमा ट्वीट गर्दै बेलायतले नेपालको शान्तिपूर्ण संसदीय निर्वाचनको स्वागत गरेको बताएकी थिइन्। उनले लेखेकी थिइन्, ‘हाम्रो आधुनिक साझेदारी २०० वर्षभन्दा बढीको मित्रता र हाम्रा जनताबीचको बलियो सम्बन्धमा आधारित छ। हामी यी सम्बन्धहरूलाई अझ सुदृढ पार्न र नेपालको भावी सरकारसँग काम गर्न तत्पर छौं।’
निर्वाचनपछि काठमाडौंस्थित बेलायती दूतावासले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएको थियो। दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई ज्ञापन गर्दछ। हामी हाम्रो अर्को १०० वर्षको मित्रता बनाउन नयाँ सरकार गठनपछि मिलेर काम गर्न तत्पर छौं।’
बेलायत नेपालको प्रमुख विकास साझेदार हो। दुई देशबीचको औपचारिक सम्बन्ध सन् १८१६ मा सुरु भएको थियो। त्यसबेलादेखि नेपाल–बेलायत सम्बन्ध परम्परागत मित्रता, सौहार्द र सहयोगमा आधारित रहेको छ। विशेषगरी ब्रिटिश गोर्खाहरूका कारण दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको विश्वास गरिएको छ।
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध, साझा विकास परियोजना र सुरक्षा साझेदारीले आगामी दिनमा दुवै पक्षका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। यस शिष्टाचार भेटले नयाँ सरकार गठनपछि दुवै देशबीच समन्वय र सहकार्य अझ सुदृढ हुने संकेत दिएको छ।








