काठमाडौं । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । शनिबार दिउँसो भक्तपुरको सल्लाघारी चौमा एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनको उदघाटन गरे ।
सो अवसरमा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको दाबी गरे । उनले सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने नठान्न चेतावनी दिएछ । एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपा मात्र भएको उनले दाबी गरे ।
एमाले जस्तो लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिलाई निर्णायक शक्ति बनाउनुपर्ने ओलीले बताए । सिंगो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ एमाले अघि बढेको उनले बताए ।
ओलीले अधिकांश समय लिखित भाषणमै केन्द्रित रहेर पार्टी पङ्क्तिलाई एकताको सूत्रमा बाँध्न प्रयास गरे र भदौ २३ र २४ पछि आफूलाई लागेको आरोपको कूटनीतिक तरिकाले जवाफ दिएर युवा पुस्ताको मन जित्ने प्रयास गरे । उनको सन्देशमा एमालेभित्रको आन्तरिक एकता नै अहिलेको पहिलो सर्त देखिन्थ्यो भने युवा पुस्ताको चाहना र आवश्यकतालाई स्वाभाविक मानिए पनि त्यसलाई हाई ज्याक गरेर गरिएको विध्वंस र त्यसपछि बनेको सरकारविरुद्ध कडा प्रतिवाद गरेका थिए ।
उनका अनुसार हरेक एमालेले अर्को एमालेलाई जोड्ने सर्त नै ११औँ महाधिवेशनको मूल सन्देश हो। ओलीले युवा पुस्ताको सम्मानमा धेरै समय खर्चे । उनले असहमति जायज, तर विकल्प राजनीतिक दल नै भएको तर्क राख्दै आन्तरिक एकता, राष्ट्रियताप्रति सचेत हुन आग्रह गरे । ओलीले युवाको चाहना स्वाभाविक भएको भन्दै जेन–जी पुस्ताको सम्मान गर्दै भने, ‘असहमति राख्नुस्, आवाज उठाउनुस्। तर त्यो दलको विकल्पमा होइन। जायज विषय, जायज आवाज सम्मान योग्य हुन्छ।’
औपचारिक कार्यक्रम सुरु हुनुअघि नै सल्लाघारी क्षेत्र खचाखच भरिएको थियो। जुलुसहरू एक किलोमिटर टाढाबाट आइरहेका थिए। मोबाइल नेटवर्क अवरुद्ध हुँदा कार्यकर्ताले प्रत्यक्ष प्रसारण गर्न सकेनन् भने पत्रकारलाई समाचार संकलनमै समस्या देखियो।
एमालेको महाधिवेशनमा देशका ठूला दलका शीर्ष नेताहरू स्वयं उपस्थित भएनन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नआएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाए।
माओवादी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित रहे। मधेश केन्द्रित दलका शीर्ष नेता पनि आएनन्। जेन–जी आन्दोलनबाट सबैभन्दा बढी क्षति भोगेको एमालेको यो महाधिवेशन शीर्ष नेताको प्राथमिकतामा किन परेन ? यो प्रश्न सहभागी कार्यकर्ताबीच अर्थपूर्ण बहसको विषय बन्यो।
कांग्रेस कार्यवाहक सभापति खड्काले पार्टी फुट्दा र जुट्दाको पीडाबाट शिक्षा लिन आग्रह गर्दै सहमति वा मैत्रीपूर्ण प्रतिस्पर्धा मा नेतृत्व छान्न सुझाव दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजा, दल र जेन–जीबीच नयाँ समझदारीको आवश्यकता औँल्याउँदै संविधान नै मरिसकेको दाबी गरे। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट एकताको विकल्प नभएको भन्दै उनले वामपन्थीहरूबीच सहकार्य अपरिहार्य भएको बताए।









