काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेपछि निवर्तमान केन्द्रीय सदस्य र प्रदेश सभापतिसहित २५ नेताले एकताका लागि अपिल गर्दै साझा वक्तव्य जारी गरेका छन्।

शुक्रबार बानेश्वरमा भएको छलफलपछि निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), निवर्तमान केन्द्रीय सदस्यहरू, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराईलगायत २५ जनाको हस्ताक्षरमा अपिल जारी भएको छ। २४ जना निवर्तमान केन्द्रीय सदस्यसँगै बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको अपिलमा हस्ताक्षर छ।

ADVERTISEMENT

‘देश र कांग्रेस जोड्ने अभियान’ चलाइरहेका नेता महरका अनुसार सुरुमा आन्तरिक छलफल भएको थियो। साझा अपिल तयार भएपछि सभापति गगन थापालाई पनि बोलाइएको थियो।

ADVERTISEMENT

छलफलमा देश गम्भीर सङ्कटमा रहेको र राजनीतिक अस्थिरता बढिरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकताबद्ध बनाउन थापाको ध्यानाकर्षण गराए। कांग्रेसको बृहत् एकताका लागि सभापति थापाको भूमिका महत्त्वपूर्ण रहने उनीहरुको भनाइ छ।

‘१५औँ महाधिवेशनको सङ्घारमा हामीले विभिन्न तीतामीठा अनुभवहरू प्राप्त गरेका छौँ। ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

ADVERTISEMENT

१५औँ महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न, पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न, सबै नेताले अहंकार र व्यक्तिगत स्वार्थ त्यागी पार्टीको बृहत् हितलाई केन्द्रमा राखेर विवादको तत्काल निकास खोज्न, संवाद, सहमति र सहकार्यका माध्यमबाट पार्टीभित्रको विवाद समाधान गर्दै सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्न उनीहरूको माग छ।

नेताहरूले पार्टीलाई एकताबद्ध, सबल र शक्तिशाली बनाएर मात्रै वर्तमान राष्ट्रिय चुनौतीहरूको सामना गर्न सकिने भन्दै यस कार्यमा जुट्न सम्पूर्ण पार्टी पङ्क्तिलाई अपिल गरेका छन्। उनीहरूले सुरुमा निवर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू शेखर कोइराला लगायतसँग पनि छलफल गरेका थिए।

‘पार्टीको सम्पूर्ण एकताका लागि हामीले नेतृत्व तहमा रहेका नेताहरूको ध्यानाकर्षण गराइराखेका छौं। त्यही अनुसार आज सभापति गगन थापाजीसँग पनि छलफल गरेका छौं,’ महरले भने, ‘पार्टी एकताको विकल्प छैन भन्ने हाम्रो साझा धारणा छ।’

सभापति थापाले एकताका लागि आफू निरन्तर संवादमा रहेको भन्दै चाँडै देउवासँग भेटवार्ताको तयारीमा रहेको बताएका थिए।