काठमाडौँ । जनमत पार्टीले दोस्रो महाधिवेशनको तयारी तीव्र पारेको छ। असोज ९ र १० गते पर्साको वीरगञ्जमा हुने महाधिवेशनका लागि निर्वाचन निर्देशिकासहितका आवश्यक दस्तावेज तयारीको अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समिति पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् भने बाँकी ५१ जना समावेशी आधारमा मनोनित गरिनेछ।

ADVERTISEMENT

कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता कम्तीमा एकतिहाइ पुर्‍याउने व्यवस्था गरिएको छ। महाधिवेशनबाट बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन्।

ADVERTISEMENT

जसमा अध्यक्ष एक, उपाध्यक्ष बढीमा सात, महासचिव एक, उपमहासचिव एक र सचिव बढीमा सात जना रहनेछन्। निर्वाचित हुन नसकेका वा रिक्त पदमा अध्यक्षले मनोनयन गर्न सक्ने व्यवस्था पनि निर्देशिकामा छ। कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले मनोनित गर्नेछन्।

उम्मेदवारी दर्ताका लागि केन्द्रीय पदाधिकारीतर्फ १५ हजार रुपैयाँ र केन्द्रीय सदस्यतर्फ ५ हजार रुपैयाँ शुल्क तोकिएको छ। उम्मेदवारले पार्टीको आधिकारिक खातामा शुल्क जम्मा गरी रसिदसहित तोकिएको फारम भरेर आधिकारिक इमेलमार्फत उम्मेदवारी पठाउनुपर्नेछ। जम्मा गरिएको रकम कुनै पनि कारणले फिर्ता नहुने जनाइएको छ।

ADVERTISEMENT

केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुन खसेको कुल मतको कम्तीमा २० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ। खुलातर्फ एक जिल्लाबाट बढीमा पाँच जना मात्रै सदस्य निर्वाचित हुन सक्नेछन्।

त्यस्तै, मतपत्रमा तोकिएको पद संख्याभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएमा माथिबाट क्रमशः आवश्यक संख्याका उम्मेदवारको मत मात्रै मान्य हुने व्यवस्था गरिएको छ।