काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ । कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक मंगलबार पुनः बसेको हो ।
गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै पार्टीको भूमिका र आगामी रणनीतिक बाटो तयार पार्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो। गत असोज २८ गते सुरू भएको बैठक अझै सकिएको छैन।
कांग्रेसभित्र पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन भन्नेबारेमा बहस चलिरहेको छ। संस्थापन पक्ष पार्टीको मुख्य ध्यान फागुनको चुनावमा हुनुपर्ने अडानमा छ । तर इतर पक्षले नियमित वा विशेष महाधिवेशन नगरी चुनावमा जान नसकिने भन्दै दबाब बढाइरहेको छ । संस्थापनका दुई दर्जन नेता अहिले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा हुनेका छन् ।









