काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने छ ।
कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अद्यावधिक र वितरणका बारेमा छलफल हुनेछ । यस्तै, महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
बैठकमा पछिल्लो समय तराई मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिन र विपक्षीको भूमिका, प्रदेश सरकार र संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वाँरले बताए । यसबाहेक मुलुकको समसामयिक राजनीतिक मुद्दा र भ्रातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेस सभापति थापाले वर्तमान सरकारले मुलुकमा शासकीय अराजकता ल्याएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको सुरुवातमा बोल्दै उनले सरकारका गतिविधिलाई विधिको सीमा बाहिर लैजान नहुने बताएका छन् ।
‘प्रधानमन्त्रीले मेरो गाडी एक्सप्रेस वेमा हिँडेको हो भन्नुभयो । त्यो उहाँको छनोट हो, तर लेनभन्दा बाहिर जान पाउनुहुन्न । स्पीड बढाउन पाउनुहुन्छ तर लेनबाहिर जान पाउनुहुन्न । विधिभन्दा बाहिर जान पाउनुहुन्न, शक्ति पृथकीकरणको सिद्धान्त बाहिर जान पाउनुहुन्न,’ थापाले भने, ‘एकपटक भएमा संयोग हुन्छ, दुईपटक भए संयोग भन्न सकिन्छ, तर पटकपटक त्यही भएमा शासकीय शैलीमा प्रश्न उठ्छ । कार्यपालिकाले आफ्नो सीमा के हो भन्ने मान्दैन । न्यायपालिकाको सीमा पनि मैभित्र पर्छ भन्ने ठान्न थाल्यो । संवैधानिक निकाय मान्दैन । संवैधानिक निकाय आदेश पालक हो ठान्छ । संसद् मान्दैन, संसद् पालक हो भन्ने ठान्न थाल्यो । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ ।’
२०४६ यताको सम्पत्ति छानबिन गर्छु भनेर निर्णय गर्ने सरकारले आफ्नै मन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक नगरेको भन्दै थापाले प्रश्न गरेका छन् । राहदानी छपाइदेखि अर्थतन्त्रसम्ममा शासकीय अराजकता देखिएको थापाले बताए ।
‘पासपोर्टको काण्ड पनि थाहै छ । प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुखलाई सिंहदरबारको कोठाभित्र राखेर थुन्न पाइन्छ ? बन्धक बनाउन पाइन्छ ? संविधानले यो दिन्छ ?’ उनले भने, ‘हाम्रो संवैधानिक व्यवस्थामा निर्वाचित सरकार हुन्छ तर त्यसको शक्ति सीमित हुन्छ । नागरिक अधिकार, संवैधानिक संस्थाको अधिकार मिच्न पाउँदैन सरकारले । शक्ति पृथकीकरणको सिद्धान्त मिच्न पाउँदैन ।’




