काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ।

महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न अदालतमा निवेदन दिने निर्णय गरेको हो।

ADVERTISEMENT

संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय भएको जानकारी दिए। उनका अनुसार शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी छ।

ADVERTISEMENT

पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा अदालतमा पुनः सुनुवाइ हुने भएपछि त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने इतर समूहको तर्क छ।

तर नेपाली कांग्रेसले भने महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार वडा अधिवेशन आगामी २४ भदौमा गर्ने कार्यतालिका तय गरिएको छ।

ADVERTISEMENT

कांग्रेसले यसअघि नै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। उक्त मिति यथावत राख्दै पार्टीले तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने हेरफेर गरेको छ।