दोहा । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन् ।
उनलाई यहाँस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवं नेपाली दूतावासका उच्च अधिकारीले बिदाइ गरेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार कतार आइपुगेका थिए ।
पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मंगलबार सम्बोधन गरे । साथै उनले सम्मेलनअन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गरेका थिए ।
राष्ट्रपति पौडेलले मंगलबार नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए । पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए ।
यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो ।
संयुक्त राष्ट्रसंघको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ ।







