काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित  डा. मनोजकुमार शर्माले प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेका छन् । उनलाई रास्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शर्माले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक परिषद्ले न्याय परिषद्बाट पठाइएका ६ जनाको नाममध्ये सर्वोच्च अदालतका चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो । परिषद्को उक्त निर्णयपछि न्यायालयको स्वतन्त्रता र पारदर्शितामाथि प्रश्न उठाउँदै नेपाल बार एशोशिएशन लगायत विभिन्न कानुनी तथा राजनीतिक वृत्तबाट विरोध भइरहेको छ ।

ADVERTISEMENT

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्ने मुख्य आकांक्षीका रूपमा हेरिएकी थिइन् । तर, वरिष्ठताक्रमको परम्परा तोड्दै शर्माको नाम सिफारिस भएपछि विवाद चर्किएको हो ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी परिषद्को निर्णय प्रक्रियालाई सहज बनाएको थियो । उक्त अध्यादेशअनुसार ६ सदस्यीय परिषद्मा ३ सदस्य उपस्थित भए पनि निर्णय गर्न सकिने व्यवस्था गरिएको थियो । सोही व्यवस्था लागू भएपछि बसेको परिषद् बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

शर्माको नाम सिफारिस गर्ने निर्णयप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे   र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति जनाएका थिए । दुई सदस्यको फरक मतका बीच संवैधानिक परिषद्ले शर्माको नाम अनुमोदन गरेको थियो ।