काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशमा विकसित पछिल्लो अवस्थाबारे प्रथम राष्ट्रपति डा. रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थिति तथा त्यसको समाधानका उपायबारे विचार–विमर्श भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

छलफलका क्रममा राष्ट्रपति पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न क्षेत्रमा भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकता जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT

उनले मुलुकको शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

भेटमा प्रथम राष्ट्रपति डा. रामबरण यादवले वर्तमान विषम परिस्थितिमा सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र स्थानीय समुदायलाई साथमा लिएर समस्याको समाधान खोज्न सक्नुपर्ने बताएका थिए।

ADVERTISEMENT