काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुग्दा पनि संक्रमणकालीन न्यायका महत्वपूर्ण काम बाँकी रहेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन्।

शान्ति सम्झौताको ऐतिहासिक दिनको अवसरमा शनिबार वक्तव्य जारी गर्दै उनले सरकार, राजनीतिक दल र सम्बन्धित सरोकारवाला पक्षलाई सम्झौताका बाँकी प्रतिबद्धता अविलम्ब पूरा गर्न आह्वान गरेका हुन्।

ADVERTISEMENT

२०६३ मंसिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले यसलाई नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट बनेको ऐतिहासिक राष्ट्रिय सहमति बताएका छन्।

ADVERTISEMENT

उनका अनुसार शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता राजनीतिक उपलब्धि हासिल भएका हुन्।

तर शान्ति सम्झौताले परिकल्पना गरेका सबै प्रतिबद्धता अझै पूरा हुन सकेका छैनन्। विशेषगरी द्वन्द्वपीडितलाई न्याय दिने, सत्य निरुपण तथा मेलमिलाप प्रक्रिया टुंग्याउने र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने काम बाँकी रहेको उनले उल्लेख गरेका छन्।

प्रचण्डले शान्ति सम्झौताको उद्देश्य द्वन्द्व अन्त्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको बताएका छन्।

‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो,’ उनले भनेका छन्, ‘यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’

उनले शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै बाँकी काम शीघ्र पूरा गर्न सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका छन्।