ललितपूर , जेन जी आन्दोलनको क्रममा हिजो भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले ललितपुर प्रशासनले लगाएको कर्फ्यु तोड्दै सडकमा उत्रिए। कर्फ्यु उल्लङ्घन गर्दै उनीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरूले अब यो आन्दोलन केवल जेन जी को मात्र नभई समस्त नेपालीको मुद्दा भएको भन्दै टायर बालेर प्रचण्डको निवासलाई निशाना बनाएका हुन्। प्रचण्डको घर नजिकै रहेको प्रहरी बिटमा समेत आक्रमण गर्दै आगजनी गरिएको छ। यसपछि ललितपुरका विभिन्न क्षेत्रमा त्रासमय वातावरण सिर्जना भएको छ।
सुरक्षा निकायले भिड नियन्त्रणका लागि बल प्रयोग गरिसकेको छैन , तर आक्रोशित जनसमूहले प्रहरीमाथि समेत ढुंगामुढा गर्न सक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन्। अश्रुग्यास र बल प्रयोग गरेर पनि स्थिति नियन्त्रणमा आउन नसकेको देखिए पछि प्रहरी मौन छ।
सरकारले तत्काल संयमित रहन नागरिकलाई आग्रह गरेको छ भने प्रदर्शनकारी पक्षले अबसम्मको राजनीतिक नेतृत्व र शासन प्रणालीप्रति विश्वास गुमाएको बताएका छन्। परिस्थितिले थप उग्र रुप लिन सक्ने चिन्ता सर्वत्र बढिरहेको छ।









