काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार नेपालमा कम्युनिस्टलाई शून्य बनाउने प्रयास भइरहेको भन्दै एकता बाध्यात्मक अवस्था बनेको धारणा सार्वजनिक गरेका थिए । धेरैले प्रचण्ड फेरि वामपन्थी एकता आवश्यक रहेको निष्कर्षमा पुगेको विश्लेषण गरे । तर यसबीचमा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले कसरी एकता प्रक्रियालाई अघि बढाएका छन् भन्ने भेउ धेरैले पाउन सकेका छैनन् ।
चुनावमा करारी हार बेहोरेपछि एमाले अध्यक्ष केपी ओलीको चर्चा त्यति धेरै छैन । अहिले उनी आफ्नो निवास गुण्डुबाट बाहिर निस्कन सकेका छैनन् । यहीबेला एमालेका दोस्रो तहका नेताहरू ओलीलाई नेतृत्वबाट हटाउने प्रयासमा लागेका छन् । शंकर पोखरेल, विष्णु पौडेललगायत आफूलाई हटाउने प्रयासमा लागेपछि ओलीले पनि कम्युनिस्ट पार्टीबीच एकताको गृहकार्य थालेका छन् ।
स्रोतका अनुसार ओलीले नेकपा संयोजक प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग यसबीचमा गहन छलफल गरिसकेका छन् । यी छलफलमा नेताहरूबीच एकता अपरिहार्य भएको निष्कर्ष निकालिएको छ । तर कहिले एकता भन्ने तय भइसकेको छैन । ओली र प्रचण्डले २०७४ असोजमा छापामार ढंगले वामपन्थी एकता गरेझैं यसपटक पनि त्यस्तै तयारी गरेको बुझिएको छ । सोहीअनुसार अहिले प्रचण्डले वामपन्थी एकताको अभिव्यक्ति दिन थालेका हुन् ।
प्रचण्ड र नारायणकाजीसँग गहन संवाद र छलफल गरेका ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार दुई घण्टाभन्दा लामो छलफल गरेका छन् । गुण्डु पुगेकी भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई निवासमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइएको छ ।
एमालेमा पदाधिकारीहरुकै तहबाट ओलीलाई राजीनामा गराएर पार्टी पुनर्गठनको प्रयास भइरहेका बेला उनीहरुबीच छलफल भएको हो। एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरूका अभियानको बारेमा पनि दुई नेताबीच समीक्षा भएको जनाइएको छ ।
ओलीले नेतृत्व छाड्ने अवस्थामा अहिलेका पदाधिकारीबाट कोही पनि विकल्प नरहेको भन्दै एकथरी नेताले अन्तरिम अवधिका लागि भने पनि भण्डारीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन् । भण्डारी पनि एकपटक एमालेको नेतृत्व लिन इच्छुक छिन् । तर ओली भने नेकपासँग एकता गरेर विष्णु र शंकरलाई देखाइदिने रणनीतिमा जुटेका छन् ।








