काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केही दिनअघि माओवादीसँग एकताका लागि खुला रहेको निर्णय गरेको थियो । विप्लवले समेत सामाजिक सञ्जालमार्फत त्यसबारे जानकारी दिएका थिए । समाजवादी मोर्चामा रहेका दलका साथै माओवादीसँग एकता गर्न सकिने विप्लवको भनाइ थियो ।
तर उनै विप्लव आगामी फागुनमा हुने निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा पुगेका छन् । महासचिव विप्लव नेतृत्वमा आयोगमा पुगेर नेकपा दल दर्ताको प्रक्रिया सुरु गरेको छ ।
यसअघि नै नेकपाले दल दर्ता प्रक्रियालाई अघि बढाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्य छन्।
आयोगमा यसअघि नै नेकपा नामको दर्ता भइसकेकाले विप्लव नेतृत्वको समूहले पार्टीको नाम परिवर्तनसहित नयाँ रूपमा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले एकीकृत समाजवादी र नेकपासँग एकतापछि पार्टीको नाम फेर्ने तयारी गरेको थियो । त्यसका लागि नेकपा (समाजवादी) नाम जुराइएको थियो ।
चुनाव चिन्हसमेत गोलाकारभित्र कलम राख्ने सहमति भएको थियो । तर एकीकृत समाजवादीमा माधव नेपाल इतर समूहका नेताहरु एकताबाट पछि हटेकाले तत्काल एकता नहुने बुझिएको छ । सोही कारण मंगलबार बिहान प्रचण्डले सबै कम्युनिस्ट पार्टीबीच एकता आवश्यक रहेको भन्दै गोलबद्ध हुन अपिल जारी गरेका थिए ।
पार्टी नेतृत्व छाड्न दबाब परिरहँदा प्रचण्डले माधव नेपालको एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकता गरेर राजनीति सुरक्षित गर्न खोजेका छन् ।






