काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । बुधबार पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

‘हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ । हामीले इफ, बट केही राखेका छैनौँ । सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले कन्फिडेन्स’ आएको छ साथीहरूलाई’, उनले भने, निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ । पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन् । कतिपयले रिपोर्ट निकाल्दा अप्रत्याशित रूपमा धेरै आउने भयो पनि भन्ने गरेका छन् । तर ६० प्लस नेपाली कम्युनिस्ट पार्टीले जित्ने आँकलन गरिएको छ ।’

नेता प्रमेश हमालका अनुसार निर्वाचनमा नेकपाले समानुपातिकतर्फ कम्तीमा २० देखि २५ लाख मत ल्याउने जिकिर गरे । ‘हामीले स्थानीय कमिटीले दिएको रिपोर्टको आधारमा भन्ने हो । वाम बुद्धिजिवीहरूले पनि योपटक हाम्रो पार्टीले राम्रा गरेको बताएका छन् । संयोजकले पनि प्रत्यक्षतर्फ ६० सिट जित्ने बिफ्रिङ गर्नुभयो । वास्तविक धरातल त्यस्तो छ कि छैन, त्यसबारे सूक्ष्म समीक्षा गर्न भोलि सचिवालय बैठक बोलाइएको छ’, उनले भने ।

१२ वर्षपछि एक्लै चुनावमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाले जित्ने सम्भावना भएको क्षेत्रमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई राखेको छ । यसपटक सबै दल एक्लाएक्लै चुनावमा गएकाले आफ्नो सिट र मत दुवै बढ्ने नेकपाको दाबी छ । जेनजी आन्दोलनपछि माओवादीले पार्टीको नाम बदलेर नेकपा राखेको छ । चुनाव चिन्हसमेत परिवर्तन गरेर तारा राखेको छ । पार्टीकै कतिपय नेता कार्यकर्ता भने मतदातालाई तारा चुनाव चिन्ह बुझाउन सकस भइरहेको बताएका छन् ।

प्रचण्ड निर्वाचन क्षेत्र फेरेर रुकुम पूर्व पुगेका छन् । रुकुम पूर्व तत्कालीन माओवादीको बलियो गढ भएको जिल्ला हो । त्यही भएर यसपटक प्रचण्डले पहिलेको जस्ता त्यति असुरक्षित महसुस गरेका छैनन् ।