काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहारको सार्वजनिक बिदामा आफ्नो फरक शैलीको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चर्चामा आएका छन् । सोमबार उनले अमेरिकी र्‍यापर जे–जेड (Jay-Z) को चर्चित गीत ‘लुसिफर’ पृष्ठभूमिमा राखेर फेसबुकमा तस्बिर सार्वजनिक गरेका हुन् ।

तस्बिरमा प्रधानमन्त्री शाह कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा देखिएका छन् । एक हातले कपाल समात्दै क्यामेरातर्फ हेरेको उनको हाउभाउ अन्य बेलाको भन्दा फरक देखिन्छ । उनले तस्बिरसँगै कुनै औपचारिक स्टाटस वा राजनीतिक सन्देश नराखी मुस्कान जनाउने इमोजी मात्र राखेका छन् ।

ADVERTISEMENT

प्रधानमन्त्रीले तस्बिरसँगै राखेको ‘लुसिफर’ गीतको छनोटलाई लिएर पनि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन् । यसअघि राजनीतिक टिप्पणीकार सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा बालेनलाई ‘लुसिफर’ शब्दसँग जोडेर टिप्पणी गरेपछि यो विषय चर्चामा आएको थियो ।

ADVERTISEMENT

त्यसपछि बालेनको पछिल्लो पोस्टमा सोही नामको गीत समावेश भएपछि कतिपयले यसलाई सांकेतिक अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन् । यद्यपि, उनले गीत छनोट गर्नुको कारण वा तस्बिरमार्फत दिन खोजेको कुनै सन्देशबारे स्पष्ट पारेका छैनन् ।

बालेनका पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रतिक्रिया दिएका छन् । कतिपयले उनको फरक लुक्स र आत्मविश्वासको प्रशंसा गरेका छन् भने कतिपयले गीतको छनोटलाई राजनीतिक प्रसङ्गसँग जोडेर टिप्पणी गरेका छन् ।

यसअघि पनि बालेनका फरक शैलीका तस्बिर र सामाजिक सञ्जालमा राखिएका अभिव्यक्तिले चर्चा पाउने गरेका थिए । यसपटक भने तिहारको बिदा, नयाँ लुक्स र ‘लुसिफर’ गीतको संयोजनले उनको पोस्टलाई थप चर्चित बनाएको छ ।