काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलका प्रमुख सचेतकहरूबीच संसदको पछिल्लो अवस्था, सरकारको कार्यशैली तथा विपक्षी सहकार्यबारे छलफल भएको छ ।

आइतबार सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकबीच बैठक बसेको हो ।

ADVERTISEMENT

छलफलमा कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल तथा राप्रपाकी खुश्बु ओली सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसदलाई गरेको उपेक्षा, विपक्षी दलहरूको विरोध तथा संसदको सञ्चालन प्रक्रियालगायत विषयमा विचार विमर्श भएको जनाइएको छ ।

एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत सरकारले विपक्षीको आवाज दबाउने र पेलेर अघि बढ्ने प्रयास गरेको विषयमा गम्भीर छलफल भएको बताए ।

उनले सरकारको गैरलोकतान्त्रिक चरित्र र सभामुखको कथित दलीय भूमिकाबारे पनि बैठकमा चासो व्यक्त गरिएको जानकारी दिए ।छलफलमा संविधानको प्रभावकारी कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना तथा लोकतन्त्रको रक्षाका लागि विपक्षी दलहरूबीच सहकार्यलाई निरन्तरता दिने सहमति भएको बताइएको छ ।