काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाँक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय तामाङबीच बुधबार वडा कार्यालयमा चर्काचर्की भएको छ।
स्थानीय बाटोको अनुगमन गर्दै वडा कार्यालय पुगेकी सांसद आशिकाले बाटो सफा नगरेको र कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर नराखेको विषय उठाएपछि विवाद भएको हो। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
वडाध्यक्ष विजय तामाङका अनुसार सांसद आशिका वडा कार्यालय पुग्दा उनले सम्मानपूर्वक स्वागत गर्दै आउनुको कारण सोधेका थिए। तर, सांसदले बाटो सफा नगरेको भन्दै प्रश्न गरेपछि विवाद सुरु भएको उनले बताए।
आफूले स्थानीयको नेतृत्वमा बाटो सफा गरेको जवाफ दिँदा पनि सांसदले पटक–पटक यही विषय उठाएको वडाध्यक्षको भनाइ छ। त्यसपछि प्रधानमन्त्रीको नाम सोध्दै कार्यालयमा प्रधानमन्त्रीको तस्बिर किन नराखेको भन्ने प्रश्न गरिएको उनले बताए।
वडाध्यक्ष विजयले प्रधानमन्त्रीको तस्बिर राख्नुपर्नेमा छुटेको स्वीकार गर्दै अब राख्ने बताएका थिए। तर, त्यसपछि पनि सांसदले आफूलाई थर्काएको उनको आरोप छ।
उनले निर्वाचित भएको पाँच–छ महिनासम्म आफ्नो वडाका समस्या बुझ्न नआएको भन्दै सांसदको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। वडामा भएका विकास निर्माण र सरसफाइबारे स्थानीयसँग बुझ्न पनि उनले आग्रह गरेका छन्।
यसअघि पनि सांसद आशिका तामाङ स्थानीय तहका जनप्रतिनिधिसँग विवादमा परेकी थिइन्। भदौ १४ गते भोटेकोशी बाढीपीडितलाई राहत वितरणको विषयमा उनले गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपक कार्कीसँग विवाद गरेकी थिइन्। त्यस्तै, भदौ ५ गते ललितपुर महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा मेयर चिरीबाबु महर्जनसँग उनको चर्काचर्की भएको थियो।
यस्तो छ आशिका र वडाध्यक्षबिच चर्काचर्की
आशिका : बाटो किन सफा नगर्नुभएको ?
वडाध्यक्ष : बाटो कहाँ फोहोर छ ?
आसिका : बाटो कहिँ पनि सफा छैन ।
वडाध्यक्ष : मेरो बाटो तपाईंले सफा गर्ने हो ?
आशिका : त्यो बाटो सफा गरे हुँदैन ।
वडाध्यक्ष : किन सफा गरेका छैन ? कहाँ सफा भएको छैन ?
आशिका : बाटो कहिँ पनि सफा छैन । मसँग भिडियो छ यहाँ ।
वडाध्यक्ष : खोइ देखाउनोस् । चुनाव जितेर आज एक दिन आएर बाटो सफा छैन भन्ने । म आफै बाटो सफा गर्न हिँडेको छु, सफा भएको छैन भन्ने ।
अहिलेको प्रधानमन्त्री को हो भन्नोस् ?
वडाध्यक्ष : मलाई किन चासो !
आशिका : कोहो प्रधानमन्त्री अहिले ? नाम भन्नोस् ।
वडाध्यक्ष : आवश्यक भएकै कुरा होइन किन चाहियो ?
आशिका : आफ्नो देशको प्रधानमन्त्रीको नाम थाहा छैन ?
वडाध्यक्ष : किन लिनुपर्यो नाम । किन चासो दिनुपर्यो । तपाईंको काम के हो ?
आशिका : क्यामरापटी हेर्दै भित्तामा देखाउँछिन् । भित्तामा राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलको तस्बिर राखिएको तर प्रधानमन्त्री बालेन्द्र शाहको नाम नराखिएकोमा उनी जंगिन्छिन् । उहाँ कोबाट भर्ती भएको छ ? कहिलेसम्म चल्छ ?
वडाध्यक्ष : तपाईंले गर्दिएको हो भर्ती ? चुनाव जितेर तपाईंले कति बजेट हाल्नुभयो । त्यसपछि यो वडाध्यक्षसँग बोलेर साध्य रहेनछ भन्ने बाहिर निस्किन्छिन् ।










