काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृतिका सांसद धुव्रराज राईले बाँदरको समस्या नियन्त्रणबारे बोल्ने क्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद्मा विवाद उत्पन्न भएको छ । राईले “बाँदरलाई सलामी देऊ, नभए मलामी देऊ” भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले त्यसप्रति आपत्ति जनाएकी हुन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले गाउँबस्तीमा बाँदर र बँदेलका कारण जनताले दुःख पाइरहेको भन्दै सरकारको नीति तथा कार्यक्रमले यस्ता समस्यालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
“बाँदर, बँदेलले जनतालाई दुःख दिइरहेका छन् । यसलाई रोक्ने नीति कार्यक्रम कस्तो बनाउँदै छौँ ?” राईले संसद्मा भने, “आज जनताले बाँदरलाई सलामी देऊ, नभए मलामी देऊ भनिरहेका छन् ।”
उक्त अभिव्यक्तिपछि रास्वपा सांसद आशिका तामाङले तत्काल आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरिन।
“यो आपत्तिजनक अभिव्यक्ति हो । फिर्ता मात्र होइन, पूरै काटेर फालिनुपर्छ,” तामाङले भनिन् , “सलामी दिने भन्ने शब्द नै आपत्तिजनक छ ।”
सभामुखले भने सांसद तामाङलाई बस्न आग्रह गर्दै सदनको कारबाहीलाई निरन्तरता दिए ।





