काठमाडौँ । कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेकी छन् ।
मंगलबारको बैठकमा परराष्ट्रमन्त्री खनालले राईको शव नेपाल ल्याउने विषयमा सरकारको तर्फबाट जवाफ दिएका थिए । तर, मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसद तामाङले थप प्रश्न गर्न खोजेकी थिइन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीले जवाफ दिइसकेपछि पुनः प्रश्न सोध्ने व्यवस्था नरहेको भन्दै उनलाई आसन ग्रहण गर्न आग्रह गरे ।
सभामुखले संसदीय मर्यादा कायम राख्न पटक–पटक आग्रह गरे पनि तामाङले आफ्नो असन्तुष्टि कायमै राखिन् । त्यसपछि उनी विरोधस्वरूप बैठक कक्षबाट बाहिरिएकी हुन् ।
यसअघि तामाङले कम्बोडियामा निधन भएको ३७ दिन बितिसक्दा पनि राईको शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको भन्दै सोमबारको बैठकमा उभिएर विरोध जनाएकी थिइन् ।
उनले अर्थ मन्त्रालयले शव ल्याउन बजेट छुट्याए पनि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाएका कारण प्रक्रिया अघि बढ्न नसकेको दाबी गरेकी थिइन् ।
‘परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश मारिसके,’ उनले भनेकी थिइन्, ‘सरकारले कि यिनीहरू नेपाली नागरिक होइनन् भन्नुपर्यो, नत्र जवाफ नआउन्जेल म उभिइरहन्छु ।’
उनको विरोधपछि सभामुख अर्यालले परराष्ट्र मन्त्रालयलाई तीन दिनभित्र जवाफ दिन रुलिङ गरेका थिए । सोही रुलिङअनुसार परराष्ट्रमन्त्री खनालले मंगलबार संसद्मा जवाफ दिएका हुन् ।
कम्बोडियामा निधन भएका राईको शव अझै त्यहाँस्थित अस्पतालमै रहेको बताइएको छ । उनको शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा सांसद तामाङले सरकारको ध्यानाकर्षण गराउँदै आएकी छन् ।





