काठमाडौं । सामाजिक अभियन्ता एवं रास्वपाबाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिएकी छन् । जर्मनीको पिआर भएकाले उनले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
बिहीबार उनको जर्मनीको पिआर रहेको भन्दै विवाद आएको थियो । तर निर्वाचन कार्यालयले उम्मेदवारी कायमै रहने निर्णय गरेको थियो । तर शुक्रबार काठमाडौंस्थित जर्मन दूतावासले पिआरको विषयमा प्रश्न उठेपछि उनलाई छलफलमा बोलाएको थियो ।
उनी दिउँसो १२ बजे दूतावास पुगेकी थिइन् । आशिकाले फोन र इमेलबाटै उम्मेदवारी फिर्ता लिएकी हुन् । शुक्रबार दिउँसो तामाङले निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए। यसबारे निर्वाचन आयाेगले आजै निर्णय गर्ने भएकाे छ ।
धादिङको गजुरी गाउँपालिकाअन्तर्गत मलेखु स्थायी ठेगाना भएकी आशिका पार्टीभित्रका अन्य आकांक्षी तथा कार्यकर्तालाई उछिनेर उम्मेदवारका लागि सिफारिस लिन सफल भएकी थिइन् । सडक, हिमाल, पहाड, मधेशका गाउँबस्तीमा विकृतिविरुद्ध लड्दै आएकी उनको उम्मेदवारी संविधान र प्रचलित कानुनविपरीत रहेको भन्दै प्रश्न उठेको थियो ।
आशिकाले सन् २०१७ नोभेम्बर ७ (२०७४ कात्तिक २१) मा जर्मनीको स्थायी आवासीय अनुमति (पिआर) लिएको पाइएको छ । पछिल्लो पटक सन् २०२३ जुन ९ मा पिए १७८८६८४ नम्बरको नेपाली राहदानी बनाएको र २०८२ असार ५ गते जर्मनी पुगेर असार १७ गते नेपाल फर्किएको अभिलेखमा देखिन्छ । सो अवधिमा उनले जर्मनीको स्थायी आवासीय अनुमति कार्डसमेत नवीकरण गराएकी थिइन् ।





