काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका तथा प्रेस स्वतन्त्रतामाथि भइरहेको भनिएको हस्तक्षेपबारे छलफल हुनेछ ।
त्यस्तै, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषय, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग तथा निष्पक्ष अनुसन्धानको आवश्यकताबारे पनि बैठकमा छलफल हुने उनले बताएका छन् ।
सरकारको कार्यशैली र पछिल्ला घटनाक्रमबारे साझा धारणा बनाउने उद्देश्यले कांग्रेसले प्रतिपक्षी दलहरूलाई एकै ठाउँमा बोलाएको हो ।









