काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् । उनले सरकारबाट शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको आरोपसमेत लगाएका छन् ।
विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ गरिएको तथा पक्राउको तयारी भइरहेको विषयप्रति आपत्ति जनाउँदै थापाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो । प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने । सरकारले राज्यका निकायलाई आफ्नो आदेश पालना गर्ने संयन्त्रका रूपमा बुझ्न थालेको उनको आरोप छ ।
‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो,’ थापाले भने ।उनले सरकारमा शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको भन्दै ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो । प्रवृत्तिले हद नाघेको छ,’ टिप्पणी गरे ।









