सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार भएको राष्ट्रिय सहमतिसँगै कर्णाली प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ। सहमतिअनुसार अब नेकपाको नेतृत्वमा प्रदेश सरकार गठन हुने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिले यसअघिको प्रदेशस्तरीय सत्ता समीकरण परिवर्तन गरेको हो। यसको प्रत्यक्ष प्रभाव कर्णाली प्रदेशमा परेको छ।
नेपाली कांग्रेसले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने उद्देश्यसहित नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
अविश्वास प्रस्तावमाथि छलफलका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको छ।
प्रदेशसभा सभामुख नन्दा गुरुङले नयाँ सरकार गठनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन कर्णाली प्रदेशसभाको बैठक साउन १४ गते बिहीबार दिउँसो ३ बजे बस्ने जानकारी दिएकी छन्।





