कर्णाली। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
कर्णाली प्रदेशमा रिक्त रहेको अन्य र महिला क्लस्टरका पदका लागि चार जनाले उम्मेदवारी दिएका हुन्। अन्य क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुकुम–पश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली कांग्रेसबाट जुम्लाका ललितजङ्ग शाहीले मनोनयन दर्ता गरेका छन्।
त्यस्तै, महिला क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा निवासी अञ्जु महतारा र नेकपा एमालेबाट दैलेख निवासी मिनासिंह रखालले राष्ट्रियसभा सदस्यको लागि मनोनयन दर्ता गरेका छन्।
कर्णाली प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया पूरा भइसकेको छ र अब निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ।






