काठमाडौं । यो साता शेयर बजार परिसूचक नेप्से २६ सय १८ दशमलव ७२ बिन्दुमा सीमित भएको छ। यसैगरी, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ सय ६१ दशमलव ३६ बिन्दुमा खुम्चिएको छ।
नियमित कारोबारका लागि सातामा पाँच कार्यदिन नै खुलेको धितोपत्र बजारमा चौथो कार्यदिन सामान्य अंकले उकालो लागे पनि बाँकी चार दिन लगातार ओरालो लाग्दा नेप्से परिसूचक र सेन्सेटिभ इन्डेक्स दुवै घटेका हुन्।
यो साता ३ सय ५० वटा कम्पनीको शेयर कारोबार भएको छ। जसबाट २ लाख ६२ हजार ४ सय ९७ पटकको कारोबारमा ५ करोड ६१ लाख ६१ हजार ४ सय ३० कित्ता शेयर खरिद–बिक्री भएका छन्। सोही आधारमा कुल कारोबार रकम २२ अर्ब ४६ करोड ६० लाख ७८ हजार ८ सय ४७ रुपैयाँ कायम भएको छ। यो कारोबार रकम गत साताको तुलनामा करिब ३ अर्ब रुपैयाँले बढी हो।
गत साता ३ सय ५२ वटा कम्पनीको शेयर कारोबार भएको थियो। जसबाट २ लाख ३८ हजार ४ सय ६९ पटकको कारोबारमा ४ करोड ९१ लाख ८३ हजार १ सय ७६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ३१ करोड ७९ लाख ४५ हजार ४ सय ३९ रुपैयाँ पुगेको थियो।
यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँचै कार्यदिन खुलेको थियो। जसमध्ये चौथो दिन उकालो लागेको शेयर बजार बाँकी चार दिन भने लगातार ओरालो लागेको थियो।
दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २ दशमलव २५ अंकले ओरालो लागेर २ हजार ६ सय ४१ दशमलव ५८ बिन्दुमा झरेको थियो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०८ अंकले घटेर ४ सय ६३ दशमलव ६४ बिन्दुमा खुम्चिएको थियो।
दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९ दशमलव ३४ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ४८ बिन्दुमा झरेको थियो। सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५५ अंकले घटेर ४ सय ६१ दशमलव ०९ बिन्दुमा पुगेको थियो।
तेस्रो दिन बुधबार नेप्से परिसूचक शून्य दशमलव २६ अंकले घटेर २ हजार ६ सय २२ दशमलव २२ बिन्दुमा झरेको थियो। सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ०८ अंकले घटेर ४ सय ६१ बिन्दुमा पुगेको थियो।
चौथो दिन बिहीबार भने नेप्से परिसूचक ७ दशमलव १७ अंकले बढेर २ हजार ६ सय २९ दशमलव ४० बिन्दुमा पुगेको थियो। सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८८ अंकले बढेर ४ सय ६२ दशमलव ८९ बिन्दुमा चढेको थियो।
पाँचौँ दिन शुक्रबार नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ७२ बिन्दुमा झरेको थियो। सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५२ अंकले घटेर ४ सय ६१ दशमलव ३६ बिन्दुमा पुगेको थियो।
यो साता रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी लिमिटेडलगायतका कम्पनीको बढी कारोबार भएको छ। यसैगरी, आँखुखोला जलविद्युत कम्पनी, रिडी पावर कम्पनी लिमिटेडलगायतका कम्पनीका बढी संख्यामा शेयर किनबेच भएका छन्।
बजार पुँजीकरणका आधारमा यो साता पनि नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन्।







