काठमाडौं । सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस गरिएको हो।
भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याउन लागिएको प्रवक्ता पोखरेलले बताए।
उनका अनुसार हाल १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था छ। उक्त अवधि घटाउने गरी तयार पारिएको ऐनलाई अध्यादेशमार्फत जारी गर्न लागिएको हो।







