काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोहका लागि मुख्य मञ्च, बन्दसत्रका हल, सञ्चारकर्मीका लागि मिडिया सेन्टर तथा स्वास्थ्य सेवाका लागि हेल्थ डेस्कलगायत आवश्यक तयारी पूरा गरिएको छ।

दिउँसो २ बजे हुने उद्घाटन समारोहमा देशभरबाट आएका ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। अधिकांश प्रतिनिधि काठमाडौं आइपुगेका छन् भने उनीहरूको बसोबासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था गरिएको छ।

ADVERTISEMENT

महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित भारत, चीन, अमेरिका लगायतका देशका राजनीतिक दल तथा विदेशी पाहुनालाई समेत निमन्त्रणा गरिएको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् भने अन्य विदेशी प्रतिनिधि तथा शुभकामना सन्देश आउने क्रम रहेको कांग्रेसले जनाएको छ।

ADVERTISEMENT

उद्घाटनपछि हुने बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नेछन्। उपसभापति, महामन्त्री र कोषाध्यक्षले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्वसमेत चयन गर्नेछ। उम्मेदवारी मनोनयनपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। मतदानका लागि खुलामञ्चसँगै राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानलाई प्रयोग गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

ADVERTISEMENT

प्रतिनिधिहरूको भोजनका लागि भृकुटीमण्डपमा व्यवस्था गरिएको छ। महाधिवेशन व्यवस्थापनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालन गर्न तीनवटा हल तयार पारिएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले बताए।

यसपटक कांग्रेसले महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरेको छ।