काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई समेत सँगै लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र अवसर वितरणमा कुनै विभेद नगर्ने स्पष्ट पार्दै सबैलाई सम्मानजनक भूमिकामा समेट्ने बताए ।
‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भएर पनि पार्टीको संरचनाभित्र समेटिन नसकेका नेताहरूलाई केन्द्रीय समिति तथा अन्य समितिमा समावेश गर्ने तयारी रहेको जानकारी दिए।
“१४औँ महाधिवेशनबाट निर्वाचित नेताहरू जो अहिले मेरो समितिभित्र हुनुहुन्न, उहाँहरूलाई केन्द्रीय समितिमा ल्याएर सम्मानजनक जिम्मेवारी दिन चाहन्छु, “को विशेष महाधिवेशनबाट आएको हो वा होइन भन्ने आधारमा अवसर प्राप्त गर्ने अवस्था हुँदैन ।”सभापति थापाले भने
सभापति थापाले पार्टीको १५औँ महाधिवेशनको तयारी सुरु भइसकेको जानकारी दिँदै प्रेमबहादुर खड्काको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको उल्लेख गरे । उनले आवश्यकताअनुसार अन्य नेताहरूलाई पनि समितिमा समेट्न आफू तयार रहेको बताए ।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति गठन भएको जानकारी दिँदै सभापति थापाले त्यसमा पनि थप सदस्य राख्न सकिने बताए । अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरिरहेको उल्लेख गर्दै उक्त समितिमा समेत आवश्यकताअनुसार सदस्य थप गर्न सकिने उनको भनाइ थियो ।
उनले देशभरका क्रियाशील सदस्यलाई पार्टी सदस्यता अद्यावधिक गर्न आग्रह गर्दै संगठन सुदृढीकरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्ने भए पनि व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरे। उनले ठूलो जनसमर्थनसहित बनेको वर्तमान सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक रहेको बताए ।
महामन्त्री पौडेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धानजस्ता संवेदनशील निकायहरू प्रधानमन्त्री केन्द्रित नबनाउन सुझाव दिए।
त्यस्तै, कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा संविधानविदको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन गर्नुपर्ने धारणा राखे । उनले संविधानका व्यवहारिक कमजोरी र सुधारका पक्षमा राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरे ।
“संविधानले कुनै एक दलको मात्र इच्छालाई प्रतिनिधित्व गर्नु हुँदैन, व्यवहारमा देखिएका कमजोरीलाई समेत केन्द्रमा राखेर राष्ट्रिय बहस चलाउनुपर्छ,” नेता केसीले भने ।
समाजका अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानविद विपीन अधिकारी, कूटनीतिज्ञ शम्भुराम सिंंखडा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, वरिष्ठ पत्रकार गोकर्ण अर्याललगायतले समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिकाबारे धारणा राखेका थिए ।






