काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई निम्तो दिइएको छ।
कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको नेतृत्वमा गएको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिएको हो।
कांग्रेसले अन्य राजनीतिक दलका नेताहरूलाई समेत उद्घाटन समारोहमा सहभागी हुन निम्तो दिएको जनाएको छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गते दिउँसो १ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने तय भएको छ।
महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। सहमहामन्त्री राणाले शीर्ष नेताहरूको उपस्थितिले राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउन योगदान पुग्ने बताएका छन्।
विशेष महाधिवेशनपछि गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ। कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार वडा, पालिका तथा क्षेत्रीय तहका अधिवेशनपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने तय गरिएको छ।
यसैबीच कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यक्रम अघि बढाइरहेको विषय पनि सार्वजनिक रूपमा आएको छ।








