काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। समितिले मंगलबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते हुने भएको छ।
समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुनेछ। बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन्।
त्यस्तै, महाधिवेशनको निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गते तोकिएको छ। निर्वाचनसम्बन्धी अन्य कार्यक्रम र विस्तृत कार्यतालिका पछि सार्वजनिक गरिने समितिले जनाएको छ।
समितिले महाधिवेशन प्रतिनिधि चयनका लागि असोज १५ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी प्रतिनिधिको नामावली पठाइसक्न सम्बन्धित निकायलाई भनेको छ। महाधिवेशन प्रतिनिधि रजिस्ट्रेसन भने असोज १६ र १७ गते हुनेछ।
यसअघि कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको थियो।








