काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको माग अस्वीकार गर्दै आफू अध्यक्षबाट नहट्ने धारणा केन्द्रीय समिति बैठकमा राखेका छन्।

सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत ओलीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने तर त्यसकै आधारमा पार्टीलाई नेतृत्वविहीन बनाएर आफू पछि नहट्ने बताएका हुन्।

ADVERTISEMENT

प्रतिवेदनमा ओलीले पार्टीको नीति, कार्यशैली, उम्मेदवार छनोट र निर्णय प्रक्रियाबारे हुने आलोचना सुन्न आफू तयार रहेको उल्लेख गरेका छन्। तर स्वास्थ्य, उमेर, शरीर तथा विगतको राजनीतिक संघर्षलाई जोडेर गरिने व्यक्तिगत आलोचनालाई उनले आपत्तिजनक भनेका छन्।

ADVERTISEMENT

पार्टी पुनर्गठनको बहसबारे ओलीले ‘बेमौसमी बाजा’ बजाइएको टिप्पणी गर्दै अहिले अध्यक्ष विस्थापन गर्ने औचित्य नरहेको तर्क गरेका छन्। यसअघि पनि एमालेको कार्यदलमा नेतृत्व पुनर्गठनबारे फरक–फरक धारणा आएका थिए र अन्ततः तत्काल नेतृत्व परिवर्तनको विषयलाई प्राथमिकतामा नराख्ने सहमति बनेको थियो।

ओलीले रूपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई पनि आकस्मिक रूपमा पद खाली गर्ने विषयसँग जोड्न नहुने बताएका छन्। संस्थागत तयारीबिना गरिने हतारोको नेतृत्व हस्तान्तरणले पार्टीमा रिक्तता सिर्जना गर्न सक्ने उनको तर्क छ।

ADVERTISEMENT

उनले उमेर कम हुनु मात्रै नेतृत्वको योग्यता र उमेर बढी हुनु अयोग्यताको आधार नभएको उल्लेख गर्दै अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच संयोजन आवश्यक रहेको बताएका छन्।

यसअघि एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण कार्यदलले नेतृत्व पुनर्गठनको विषयलाई तत्काल अघि नबढाउने निष्कर्ष निकालेको थियो। कार्यदलको एकीकृत प्रतिवेदन सोमबारको केन्द्रीय समिति बैठकमा छलफलका लागि अघि बढाइएको हो।