काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आजका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । बैठक अब आगामी सोमबार बस्ने गरी सारिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार सोमबार बस्ने बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुन्डुमा आयोजना गरिनेछ ।
आइतबार मनाइने मदन–आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले आज बस्ने भनिएको बैठक स्थगित गरिएको उनले बताएका छन् ।
सोमबारको बैठकमा पार्टीभित्रको आन्तरिक कार्यविभाजन, संगठनात्मक विषय र गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने कार्यसूची रहेको बताइएको छ ।
निर्वाचनमा एमालेले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको भन्दै पार्टीभित्र नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ । यही विषयमा पनि सचिवालय बैठकमा गम्भीर छलफल हुने अनुमान गरिएको छ ।
पार्टीभित्र पछिल्लो समय संगठन सुदृढीकरण, नेतृत्वको भूमिका र आगामी रणनीतिबारे समेत बहस चलिरहेको छ ।






