काठमाडौँ। नेकपा (एमाले) भित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी साझा प्रतिवेदन तयार गर्ने भएको छ। कार्यदलले तत्काल नेतृत्व पुनर्गठनको विषय अघि नबढाउने गरी पार्टी पुनर्गठनका विषयलाई समेटेर प्रतिवेदन तयार गर्ने सहमति गरेको छ।

काभ्रेपलाञ्चोकको बल्थलीमा भएको आवासीय छलफलपछि कार्यदलले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन तथा प्रदेशबाट आएका सुझाव समेटेर एकीकृत मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको थियो।

ADVERTISEMENT

एमाले सचिव महेश बस्नेतका अनुसार साझा प्रतिवेदन पार्टी सचिवालयमा पेस गरिनेछ। उनले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने, राजीनामा नमाग्ने तथा पुनर्गठनकै एजेन्डामा विशेष महाधिवेशन नबोलाउने विषय प्रतिवेदनमा समेटिनुपर्ने बताएका छन्।

ADVERTISEMENT

त्यस्तै, वर्तमान सरकारका कामकारबाहीबारे छलफल गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउन सकिने विषय पनि प्रतिवेदनमा राख्नेबारे छलफल भएको बस्नेतले बताएका छन्।

नेतृत्वको कार्यकाल, उमेर हदलगायत विधान संशोधनका विषय भने नियमित विधान महाधिवेशनमा छलफल गर्ने तथा प्रदेशस्तरमा कार्यदलले संकलन गरेका सुझावलाई पनि प्रतिवेदनको अंग बनाउने विषयमा छलफल भएको उनले जानकारी दिएका छन्।

ADVERTISEMENT

कार्यदलले तत्काल अध्यक्षको नेतृत्व परिवर्तन गर्ने विषयलाई प्रतिवेदनको मुख्य एजेन्डा नबनाउने निष्कर्ष निकालेको छ। यद्यपि एमालेभित्र नेतृत्व तथा पार्टी पुनर्गठनबारे फरक धारणा भने कायमै रहेको सार्वजनिक विवरणहरूले देखाएका छन्।

दुई प्रतिवेदनपछि एकीकृत दस्तावेज

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा तथा पार्टी र जनताबीचको सम्बन्ध सुधारका लागि सुझाव दिन एमालेले १५ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले सातै प्रदेशमा पुगेर नेता–कार्यकर्ता तथा विभिन्न तहबाट सुझाव संकलन गरेको थियो। त्यसक्रममा महासचिव शंकर पोखरेल र कार्यदलका संयोजक रामबहादुर थापाले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेपछि दुवै प्रतिवेदनलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको हो।

बल्थली बैठकले दुवै प्रतिवेदनलाई एउटै दस्तावेजमा समेट्ने जिम्मेवारी थापा, पौडेल र पोखरेललाई दिएको थियो। अब तयार हुने एकीकृत प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटीमा पेस गर्ने तयारी छ।