काठमाडौं । एमालेले चुनावको वातावरण अझै बन्न नसकेको निष्कर्ष निकालेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकार नै चुनावको वातावरण बिगार्ने काममा लागेको र यसमा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह बालेनको पनि साथ रहेको बताएका छन् ।

एमाले सचिव महेश बस्नेतले बैठक जारी रहेकै समयमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अहिले राष्ट्रिय सभाको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । कांग्रेस र नेकपासँग मिलेर जाने कि एक्लाएक्लै जाने भन्नेमा निष्कर्षमा नपुगेको उनको भनाइ छ ।

ADVERTISEMENT

‘कांग्रेस र नेकपासँग सहकार्य गरेर जाँदा चुनाव भाँड्ने खेलमा सरकार र विदेशी शक्ति लागेको देखिएको छ । त्यही भएर कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा हामी पुगेका छैनौं,’ उनले भने ।

बस्नेतका अनुसार बैठकमा ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । यसका लागि सरकार र विदेशी शक्ति नै लागेको उनको भनाइ छ । ‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ ओलीको भनाइ उदृत गर्दै बस्नेतले भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेका छन् ।’

ADVERTISEMENT

ओलीले अहिले विकासको नाममा एनजीओ आईएनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्र भइरहेको र त्यसमा विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको ब्रिफिङ गरेका छन् ।

‘नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना सशक्त भएकै कारण भदौको घटनालाई महान् उपलब्धि भनेर दाबी गर्ने साहस उनीहरूले गर्न सकेनन्। न त आन्दोलनको जस लिन सके, न देशलाई पुगेको क्षतिको भारीबाट पन्छिन सके। अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको छ,’ रवि र बालेन लक्षित ओलीको टिप्पणी छ ।