पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिँदै पार्टी विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको बताएका हुन्।
कांग्रेसभित्र दुई पक्षले १५औँ महाधिवेशनका लागि समानान्तर गतिविधि अघि बढाइरहेका बेला खड्काले आफू भने कुनै पक्षमा नखुलेको स्पष्ट पारेका छन्।
खड्काका अनुसार निर्वाचन आयोगको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि रहेको भन्दै आफू पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन्। उक्त मुद्दा अहिले विचाराधीन रहेकाले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशन प्रक्रियामा सहभागी हुनु आफूलाई उचित नलागेको उनले बताएका छन्।
महाधिवेशनका काम रोक्न माग गर्दै अदालतमा निवेदन दिए पनि कार्यतालिका रोक्न आदेश नआएपछि कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था बनेको उनको भनाइ छ।
खड्काले विचाराधीन पुनरावलोकन मुद्दालाई गम्भीरतापूर्वक लिएर अग्राधिकारमा राख्न सर्वोच्च अदालतसँग आग्रहसमेत गरेका छन्।







