काठमाडौं। नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट नियन्त्रणमा लिएको हो।

कांग्रेस संस्थापन पक्षका चौलागाईं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन्। उनी पार्टीको १५औँ महाधिवेशनको तयारी बैठकमा सहभागी हुन मन्थली पुगेका बेला पक्राउ परेका हुन्।

ADVERTISEMENT

सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार उच्च पदस्थ व्यक्तिहरूको नाम लिएर रकम असुल गरेको आरोपमा चौलागाईंलाई नियन्त्रणमा लिइएको हो।

ADVERTISEMENT

सीआईबीले रकम असुलीका लागि गरिएको भनिएको कुराकानीको अडियोसमेत फेला पारेको जनाएको छ। एआईजी चतुर्वेदीका अनुसार प्रारम्भिक रूपमा केही प्रमाण फेला परेकाले त्यसको थप प्रमाणीकरणका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका चौलागाईंलाई काठमाडौँ ल्याएर घटनाबारे थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ। प्रहरी अनुसन्धानपछि आरोप पुष्टि हुन्छ वा हुँदैन भन्ने विषय भने थप अनुसन्धान र कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।

ADVERTISEMENT