काठमाडौंं । दुई दिनदेखि अस्वस्थ भएर घरमै आराम गरिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थल पुगेका छन् ।

शुक्रबार दिउँसो नेताहरू चन्द्र भण्डारी र डा. सुनिल शर्मासँगै पुगेका उनले महाधिवेशनस्थलको अनुगमन र निरीक्षण गरेका छन् । उनले विशेष महाधिवेशनमा सबै सहभागी हुने दाबी पनि गरेका छन् ।

महामन्त्री शर्माले विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि बनाएपछि के के हुन्छ भन्ने स्पष्ट हुने बताए । उनले कांग्रेसका सबै नेताहरू सहभागी हुने दाबी गर्दै कसैकाप्रति टिप्पणी नगर्ने बताए । महामन्त्री शर्माले हस्ताक्षर गरेकाभन्दा साढे चार सयभन्दा बढीको सहभागिता हुने बताएका छन् ।

शर्माले कांग्रेस फुट्छ कि भनेर कसैले चिन्ता नलिन आग्रह गर्दै अझै मजबुत भएर आउने बताए । ‘यहाँ धेरैले चासो राखेको पाएँ । म त्यसको सम्मान गर्छु । पार्टी विधानअनुसार बोलाइएकाले हामीले सहभागी हुने निर्णय गरेका हौं । कांग्रेस एकढिक्का भएर जान्छ । चुनावमा अलग अलग कांग्रेस भएर उम्मेदवारी दर्ता हुँदैन । कुनै दलसँग गठबन्धन पनि हुँदैन,’ शर्माले भने ।

नेता चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसको वर्तमान र भविष्य दुवै भएको बताउँदै आफ्नो समर्थन रहेको बताए । उनले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैं सहभागी हुनुपर्ने धारणा राखे । कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उनी सहभागी हुनुपर्ने भण्डारीको भनाइ छ । नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएकाले सबै नेताहरू त्यसमा सहभागी हुने विश्वाससमेत व्यक्त गरे ।

‘७७ वटै जिल्लाका साथीहरू हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन् । नेपाली कांग्रेसका हुन् । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरूलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो,’ उनले भने । शर्माले विशेष महाधिवेशनप्रति आफ्नो समर्थन रहेको बताउँदै कांग्रेस अब बदलिने बताए ।