काठमाडौैं । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले आफ्नो दलका नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। नेपाली कांग्रेसका ३७ जना प्रदेशसभा सदस्यहरूमध्ये बहुमत सदस्यहरूले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै लामाको नेतृत्वमा अब सरकार सञ्चालन असम्भव भएको निष्कर्ष निकाल्दै नयाँ नेताको रुपमा ईन्द्रबहादुर बानियाँलाई सिफारिस गरेका छन्।
पत्रमा उल्लेख भएअनुसार, नेपाली कांग्रेस यस कार्यकालमा दुईपटक सरकारमा सहभागी भए पनि लामा नेतृत्वको कार्यशैलीले न पार्टी सन्तुष्ट हुन सकेको हो, न जनतामाझ सकारात्मक सन्देश दिन सकिएको हो। लामा आफैंले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा बजेट निर्माण गर्दा पनि प्रभावकारी योजना र खर्च व्यवस्थापन गर्न नसकेको, बाढीपिडित राहत वितरण तथा पुनर्निर्माणमा चासो नदिएको, प्रदेशसभामा न्यून विधेयक प्रस्तुत गरिएको, सरकार तथा सभाको भूमिका कमजोर भएको जस्ता आरोप लगाइएको छ।
कांग्रेस संसदीय दलले लामाको नेतृत्वको सरकारमा पारदर्शिता, जवाफदेहिता, समन्वय, तथा संघीयता र गणतन्त्र जस्ता मूल मुद्दाहरूमा समेत कमजोरी देखिएको उल्लेख गर्दै नेतृत्व परिवर्तनको विकल्प नभएको स्पष्ट पारेको छ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने बहुमत सदस्यहरूले बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध गर्दै संविधान तथा विधानअनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
यससँगै बागमती प्रदेशको सत्ता समीकरण फेरिने निश्चितप्राय देखिएको छ। अब प्रदेशसभामा दलहरूबीचको संख्या गणित, सम्भावित नयाँ गठबन्धन र सरकार निर्माणतर्फको चासो बढेको छ।






