काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट पक्षले पार्टीको आधिकारितासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहँदासम्म नियमित महाधिवेशन नगर्नुपर्ने धारणा व्यक्त गरेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन देउवा पक्षले यस्तो प्रतिक्रिया दिएको हो ।देउवा पक्षका प्रवक्ता तथा पूर्वसांसद प्रकाशशरण महतले पार्टीको आधिकारितासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निर्णय नआउँदासम्म महाधिवेशन गर्नु उपयुक्त नहुने बताएका छन् ।
उनले अदालतको फैसला आएपछि जुन पक्षले वैधानिकता प्राप्त गर्छ, त्यही आधारमा महाधिवेशन सम्पन्न गरेर अघि बढ्नुपर्ने बताए । साथै, पार्टीभित्र देखिएको विवाद अन्त्य गर्न दुवै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।महतले कांग्रेसभित्रको विवादले संगठन कमजोर हुने भन्दै सबै पक्ष एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।
त्यसैगरी, उनले पार्टीको आधिकारितासम्बन्धी मुद्दामा छिटो निर्णय गर्न सर्वोच्च अदालतलाई आग्रहसमेत गरेका छन् ।





