काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मिति सरेसँगै क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइएको छ।
यसअघि क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १३ गते तोकिएको थियो। अब उक्त समय असोज १५ गतेसम्म थप गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण कतिपय निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रमसँग समन्वय हुने गरी कार्यतालिका संशोधन गरिएको समितिले जनाएको छ।
संशोधित कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज १६ र १७ गते हुनेछ । १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौँको टुँडिखेलस्थित खुला मञ्चमा हुने तय गरिएको छ । त्यसैगरी बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते र निर्वाचन कार्यक्रम असोज २१ र २२ गते सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।
यसअघि तय गरिएको कार्यतालिकाअनुसार आज असोज १३ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउनुपर्ने थियो। नयाँ कार्यतालिकाले त्यसको समय दुई दिन थप गरेको हो।









