ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता जितेन्द्र महर्जन ‘पारस’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय महर्जनले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।
महर्जन २०५२ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। उनले तत्कालीन ठैव गाउँ एकाइ समितिअन्तर्गत तरुण दलको अध्यक्षको जिम्मेवारीबाट राजनीतिक यात्रा अघि बढाएका थिए। त्यसपछि पार्टीको एकाइ सदस्य हुँदै १२औँ महाधिवेशनमा एकाइ सचिवको जिम्मेवारी सम्हालेका थिए।
१३औँ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्दै क्षेत्रीय कोषाध्यक्षमा निर्वाचित भएका महर्जनले त्यसपछि प्रदेशसभा संस्थापक क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हाले। १४औँ जिल्ला अधिवेशनमा पनि सर्वाधिक मत प्राप्त गर्दै जिल्ला सदस्यमा निर्वाचित भएका उनी जिल्ला कार्यसम्पादन समिति सदस्य तथा प्रचार–प्रसार प्रमुखको जिम्मेवारीमा समेत रहे।
हालै सम्पन्न कांग्रेसको १५औँ क्षेत्रीय अधिवेशनबाट महर्जन आदिवासी जनजाति कोटातर्फ सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
गत संसदीय निर्वाचनका क्रममा जिल्लाको निजी क्षेत्र समन्वय संयोजकको जिम्मेवारीसमेत सम्हालेका महर्जन आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। विभिन्न संघसंस्थामार्फत स्थानीयस्तरमा सहयोग गर्दै सामाजिक सेवामा समेत संलग्न रहेको उनको भनाइ छ।
कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सहभागिता र नेतृत्वमा पुस्तान्तरणको विषय चर्चामा रहेका बेला महर्जनले संगठनात्मक अनुभव र सामाजिक सक्रियतालाई आधार बनाउँदै केन्द्रीय सदस्यका लागि आफूलाई प्रस्तुत गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै महर्जनले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई साथ, सहयोग र मत प्रदान गर्न आग्रह गरेका छन्।







