काठमाडौं । सेयरबजारले बुधबार फेरि गिरावटको लय समातेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको हो।
मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको थियो। सो दिन पछिल्लो दुई महिनायताकै उच्च कारोबार भएको थियो। बुधबार कारोबार रकम पनि घटेको छ।
मंगलबार करिब ८ अर्ब रुपैयाँको कारोबार भएकोमा बुधबार ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ। कारोबार कित्ता संख्या पनि मंगलबार २ करोडभन्दा बढी रहेकोमा बुधबार करिब डेढ करोडमा झरेको छ।
सरकारले सोमबार बजार सुधार गर्ने प्रतिबद्धतासहित कार्ययोजना सार्वजनिक गरेपछि मंगलबार सेयरबजारमा उच्च वृद्धि देखिएको थियो। तर, त्यसको भोलिपल्टै बजारमा पुनः गिरावट आएको हो।
बुधबारको कारोबारमा ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने अघिल्लो दिनकै स्तरमा कायम भएको छ।
यस दिन अधिकतम ६.३७ प्रतिशतसम्म सेयर मूल्य बढेको छ भने अधिकतम गिरावट ७.७३ प्रतिशतसम्म रहेको नेप्सेले जनाएको छ। अघिल्लो दिन सबै समूहमा हरियाली देखिएकोमा बुधबार भने सबै समूह राताम्य भएका छन्।






