काठमाडौं। सातामा चार कार्य दिन मात्र कारोबार भएको यो साता नेपालको सेयर बजार निरन्तर दबाबमा देखिएको छ। साताको पहिलो दिन तीव्र गिरावट आए पनि त्यसपछिका तीन दिन सामान्य सुधार भएको बजारले समग्रमा भने बलियो गति लिन सकेन। कारोबार रकमसमेत अघिल्लो साताको तुलनामा करिब तीन अर्ब रुपैयाँले घटेपछि बजारमा लगानीकर्ताको सक्रियता कमजोर बनेको देखिन्छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक चार दशमलव ६६ अंकले उकालो लागेर दुई हजार पाँच सय ४२ दशमलव ७७ बिन्दुमा चढेको छ। यसैगरी, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स शून्य दशमलव ३१ अंकले उकालो लागेर चार सय ४९ दशमलव ५० बिन्दुमा चढेको छ। यद्यपि, साताको सुरुवातमै आएको ठूलो गिरावटका कारण बजारले अघिल्लो साताको तुलनामा खासै सुधार गर्न सकेन।

ADVERTISEMENT

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार पाँच सय १३ दशमलव ४२ बिन्दुमा खुम्चिँदा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६८ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ४३ बिन्दुमा सीमित भएको थियो। तर, त्यसपछि बजारले क्रमशः सुधारको बाटो समातेको देखिन्छ। मंगलबार नेप्से परिसूचक नौ दशमलव २४ अंकले उकालो लागेर दुई हजार पाँच सय २२ दशमलव ६६ बिन्दुमा चढेकोमा बुधबार पनि १५ दशमलव ४४ अंकले उकालो लागेर दुई हजार पाँच सय ३८ दशमलव ११ बिन्दुमा चढेको थियो। बिहीबार पनि नेप्से परिसूचक चार दशमलव ६६ अंकले उकालो लाग्यो। यसरी लगातार तीन कार्यदिन बजार उकालो लागे पनि सोमबारको ठूलो गिरावटलाई पूर्णरूपमा पूर्ति गर्न भने सकेन।

ADVERTISEMENT

यो साता नेप्सेमा तीन सय ५४ वटा कम्पनीका एक लाख ९५ हजार नौ सय ३३ पटकको कारोबारमा तीन करोड ६३ लाख ६७ हजार ८३१ कित्ता सेयर किनबेच भएका छन्। जसबाट कुल कारोबार रकम १२ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले कम हो।

गत साता तीन सय ५७ कम्पनीको दुई लाख १३ हजार सात सय ५९ पटकको कारोबारमा चार करोड २८ लाख २५ हजार ५८४ कित्ता सेयर किनबेच भएका थिए। सोअनुसार उक्त साता कुल कारोबार रकम १५ अर्ब ९० करोड ९८ लाख रुपैयाँ कायम भएको थियो।

दैनिक कारोबारलाई हेर्दा सोमबार बजारमा सबैभन्दा ठूलो बिक्री दबाब देखियो। सो दिन तीन सय ४७ कम्पनीको कारोबार हुँदा ६८ हजार एक सय ३७ पटकको कारोबारबाट ९३ लाख २२ हजार एक सय ८५ कित्ता सेयर किनबेच भए। कारोबार रकम तीन अर्ब ६४ करोड ८६ लाख रुपैयाँभन्दा बढी रह्यो। मंगलबार कारोबार संख्या घटेर ४८ हजार तीन सय ४१ मा सीमित भए पनि नेप्से बढ्यो। बुधबार कारोबार रकम करिब दुई अर्ब ९४ करोड रुपैयाँ रह्यो भने बिहीबार कारोबार भएका कित्ताको संख्या उल्लेख्य बढेर एक करोड २१ लाखभन्दा बढी पुग्यो। बिहीबार मात्रै तीन अर्ब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्यांकले अन्तिम दिन खरिद चाप केही बढेको देखाएको छ।

यो साता रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, तमोर हाइड्रोपावर र शिवम् सिमेन्ट्सलगायतका कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। कारोबार रकमसँगै किनबेच भएको सेयर संख्याका आधारमा पनि यी कम्पनीहरू अगाडि देखिएका छन्। बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेका छन्।

दैनिक सेयर कारोबार तालिका