काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा झन्डै चार घण्टा ढिला सुरु भएको पाँच ओभरको खेलमा विराटनगरले दुई विकेट गुमाएर १०५ रन बनाएको हो ।

ADVERTISEMENT

विराटनगरका लागि ओपनर शेहान जयासूर्याले सर्वाधिक ३९ रन बनाए । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । अर्का ओपनर लोकेश बमले २५ रन जोडे ।

ADVERTISEMENT

वान डाउनमा आएका आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २९ रनमा अविजित रहे ।

विराटनगरले पहिलो ओभरमै ३५ रन जोडेको थियो । सुदूरपश्चिमका लागि एनपीएल डेब्यु गरेका श्रीलंकन स्पिनर थरिन्दु रत्नायकेको पहिलो ओभरमा जयासूर्याले पाँच छक्का प्रहार गरेका थिए ।

जयासूर्या र लोकेश बमले आक्रामक सुरुवात गर्दै केवल आठ बलमै विराटनगरको अर्धशतक पूरा गराएका थिए ।

तेस्रो ओभरमा अभिनाश बोहराको बलमा एलबीडब्लू आउट हुनुअघि जयासूर्याले ११ बलमा ३९ रन बनाएका थिए । सुरुमा अम्पायरले नटआउट दिए पनि रिभ्युबाट उनी आउट भएका थिए ।

सुदूरपश्चिमका लागि अभिनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर एक विकेट लिए ।

चार घण्टा ढिला सुरु भयो खेल

सुदूरपश्चिम र विराटनगरबीचको खेल शनिबार साँझ ५ बजे सुरु हुने तालिका थियो । तर वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा पानी जम्दा खेल सुरु हुन सकेन ।

सुरुमा साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने तालिका बनाइएको थियो । तर टसका लागि विराटनगरका कप्तान सन्दीप लामिछाने मैदान पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उपस्थित भएनन् ।

त्यसपछि क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का, म्याच रेफ्री र सम्बन्धित पक्षबीच लामो छलफल भएको थियो ।

एक घण्टाभन्दा बढीको अन्योलपछि राति ८:५४ बजे सुदूरपश्चिमका खेलाडी मैदानमा खेल्न तयार भएका थिए । त्यसपछि राति ९ बजे टस र ९:१५ बजे खेल सुरु गर्ने तय भएको थियो ।

टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिले बलिङ रोजेका थिए । आउटफिल्ड गिलो भएको र विदेशी खेलाडी खेल्न तयार नभएको कारण सुदूरपश्चिम टसका लागि जान अनिच्छुक देखिएको थियो । यद्यपि यसबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।