काठमाडौं।बुधबार नेपाली सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेप्से इन्डेक्स ४५.१२ अंकले बढ्दै २८०२ अंकमा कायम भएको छ, जुन बन्द हुँदाको मात्रै होइन, कारोबार अवधिभरकै उच्च बिन्दु पनि हो।

अघिल्लो दिन सामान्य २.६१ अंकले घटेको बजार आज भने बलियो रूपमा उकालो लागेको हो। यसले लगानीकर्तामा पुनः उत्साह देखिएको संकेत गरेको छ।

ADVERTISEMENT

कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार बढेर ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। यसले बजारमा सक्रियता बढेको देखाउँछ।

आज कुल २५१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५ कम्पनीको घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रहेको छ। समग्रमा बजारमा व्यापक हरियाली देखिएको छ।

ADVERTISEMENT

सबै समूहका सूचकहरू सकारात्मक देखिएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ। त्यसपछि हाइड्रोपावर समूह २.६१ प्रतिशत, होटल तथा पर्यटन समूह २.५६ प्रतिशत र विकास बैंक समूह १.९८ प्रतिशतले बढेका छन्।

यसैगरी बैंकिङ समूह १.१५ प्रतिशत, फाइनान्स १.४५ प्रतिशत, लगानी १.३५ प्रतिशत, जीवन बीमा १.३१ प्रतिशत, माइक्रोफाइनान्स १.२८ प्रतिशत र निर्जीवन बीमा समूह १.०१ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.१५ प्रतिशत र व्यापार समूह ०.६१ प्रतिशतले बढेका छन्।

आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। उच्च वृद्धि हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन्।

यस्तै, सान्भी इनर्जीको सेयर मूल्य ९.२२ प्रतिशतले बढ्दा बन्दीपुर केबुलकार ८.१८ प्रतिशतले उकालो लागेको छ।

त्यसैगरी, केही कम्पनीको सेयर मूल्य भने घटेको छ। स्वेत गंगा हाइड्रोपावर ४.३५ प्रतिशतले घट्दा माइखोला हाइड्रोपावर ३.२३ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर २.२८ प्रतिशतले ओरालो लागेको छ।

आज उच्च कारोबार हुने कम्पनीहरूमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर रहेका छन्।

समग्रमा बुधबारको कारोबारले सेयर बजारमा सकारात्मक माहोल सिर्जना गरेको छ। लगानीकर्ताको विश्वास बढ्दै गएको संकेत देखिएको यस अवस्थाले आगामी दिनमा बजारको दिशा कस्तो रहने भन्नेमा थप चासो बढाएको छ।